जनवकालत र रणनितीहरूको अनुभव आदान प्रदान कार्यक्रम चितवनमा सम्पन्न

साउन ११-१२ गते भरतपुर ।

जनवकालत र रणनितीहरूको अनुभव आदान प्रदान कार्यक्रम चितवनको सौराहामा सम्पन्न भएको छ । बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको आयोजना तथा लेभ इन्क्लुजन डेनमार्कको सहयोगमा उक्त कार्यक्रम भएको हो ।

बौद्धिक अपाङ्गताका अभिभावकहरु तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु सहभागी कार्यक्रममा सहभागीहरुले आ-आफ्नो स्थानिय तहमा अपनाएको जनवकालत रणनिती तथा सिकाईहरु साझा गरेका थिए ।

कार्यक्रममा बोल्दै बौद्धिक अपाङ्गता संघ नेपालका अध्यक्ष शिव श्रेष्ठले बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई उचित तालिम र रोजगारीको अवसर भएमा अन्य व्यक्ति सरह सामाजिक सहभागीतामा वृद्धि हुने बताउनुभयो ।

सो कार्यक्रममा सहभागीहरुले सामाजिक सञ्जाल मार्फत अभियान चलाई बौद्धिक अपाङ्गताको सवाललाई सबैको सवालको रुपमा स्थापित गर्नका लागि जनवकालतका आगामी रणनितीहरू तय गर्नुपर्ने बताउनुभएको थियो । उहाँहरूले स्थानिय सरकार समक्ष बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको सवालहरुमा केन्द्रित रहेर निरन्तर पैरवी गर्दै आइपर्ने चुनौतीहरुलाई संयुक्त रुपमा सामना गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

उक्त कार्यक्रममा लेभ इन्क्लुजन डेनमार्कको कोपिला परियोजना अन्तर्गत कार्यक्रम कार्यान्वयन भएका ६ जिल्लाका १६ जना पुरुष र १४ जना महिला गरी ३० जनाको सहभागीता रहेको थियो ।

कार्यक्रमलाई बौद्धिक अपाङ्गताको अभिभावक महासंघका अध्यक्ष राजु बस्नेतले सहजीकरण गर्नुभएको थियो । लेभ इन्क्लुजन डेनमार्कको कोपिला परियोजना कार्यान्वयन भइरहेका जिल्लाहरु काठमाण्डौँ, कास्की, लमजुङ, म्याग्दी, सप्तरी र चितवन रहेको आयोजकले जनाएको छ  ।

कार्यक्रमका थप दृश्यहरू:

समान पोस्टहरू