बौद्धिक अपाङ्गताका अभिभावक महासंघ, नेपाल बौद्धिक अपाङ्गताका अधिकारको अभियानलाई नेतृत्व गर्ने राष्ट्रियस्तरको बौद्धिक अपाङ्गता अधिकारका क्षेत्रमा क्रियाशील एकमात्र छाता संस्था हो । २०६८ सालमा स्थापित यस महासङ्घका ४७ जिल्लामा ५७ वटा सदस्यसंस्थाहरु रहेका छन् । बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको अधिकार र सम्मान सुनिश्चितताका लागि नीतिगत पैरवी तथा पहल, सङ्घसंस्थाहरूको संस्थागत तथा क्षमता विकासका कार्य गर्दै आइरहेको यस महासङ्घले बौद्धिक अपाङ्गताका अभिभावकहरूलाई अधिकारको सवाल सुसूचित गराउँदै, उनीहरूको क्षमता अभिवृद्धि गराउँदै राष्ट्रिय तथा स्थानीयस्तरमा सङ्घसंस्थाहरूसँगको समन्वयमा अधिकारको पहल तथा पैरवी गर्नका लागि क्रियाशील छ ।

बौद्धिक अपाङ्गता भएका व्यक्ति तथा तिनका अभिभावकहरूलाई अधिकारमुखी अवधारणा अनुसार प्रवर्द्धन तथा परिचालन गर्नका लागि समावेशी शिक्षा, स्व वकालत, महिला तथा बालबालिकामा हुने सबै किसिमका हिंसाका विरुद्ध, आधारभुत अधिकारका लागि पैरवी, दिगोपना तथा क्षमता विकास जस्ता विषयगत क्षेत्रहरूमा आधारित भई आफ्ना कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । साथै आगामी सन् २०२२–२६ सम्मका लागि रणनैतिक रुपमानै समावेशी शिक्षा, स्व वकालत तथा जीविकोपार्जनमा  आधारित कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य रहेको छ ।