महासंघको सदस्य संस्थालाई नेतृत्व तथा क्षमता विकास तालिम सम्पन्न

१४-१५ बन्दिपुर ।

बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको आयोजनामा म्याग्दी कास्की र लमजुङमा रहेका सदस्य संस्थाहरुको कार्यसमितीलाई नेतृत्व तथा क्षमता विकास तालिम तनहुँको बन्दिपुरमा सम्पन्न भएको छ ।

महासंघको महासचिव राम नारायण श्रेष्ठले ३ वटै जिल्लाका सदस्य संस्थाको कार्यसमितीलाई तालिममा स्वागत गर्दै तालिमको उद्देश्य र ‌औचित्यमाथी प्रकाश पार्नुभएको थियो ।

दुई दिनसम्म सञ्चालित उक्त तालिमबाट सहभागीहरुले नेतृत्व विकास र क्षमता विकासका साथै सकारात्मक सोँच र संस्थागत प्रभाव विस्तारका लागि स्थानिय तहमा गर्न सक्ने प्रयासहरुको विषयमा खेल विधी, समूह कार्य, अन्तरक्रिया लगायतको प्रयोगबाट तालिमको उद्देश्य हाँसिल गर्नका लागि सक्रियता पूर्वक सिकाई प्रक्रियामा भाग लिएको प्रशिक्षक गणेश गिरीले बताउनुभयो ।

तालिममा सहभागीमध्ये म्याग्दी जिल्लाको सदस्य संस्था बौद्धिक अपाङ्गताका अभिभावक संघको अध्यक्ष जमुना पौडेलले यस तालिमले नेतृत्व विकास, परिचालन र क्षमता बिकासका साथै उत्प्रेरणा पनि प्रदान गराएकोले आफ्नो जिल्लामा फर्किएपछि सिकेको ज्ञानलाई व्यवहारमा उतार्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यस्तै तालिमका अर्का सहभागी कास्की जिल्ला सदस्य संस्था बौद्धिक अपाङ्गताका अभिभावक संघको कोषाध्यक्ष सूर्य मोहन कंडेलले तालिमले नेतृत्वलाई नेतृत्वको रुपमा मात्र नभई रचनात्मक र सृजनशिल नेतृत्वको विकास कसरी गर्ने र समयानुसार नेतृत्वमा हुनुपर्ने सिप र क्षमताको निरन्तर विकास मार्फत कसरी आफ्नो नेतृत्वमा पुरै मुद्धालाई मूलधारमा लगेर सम्बोधनको प्रयास गर्न सकिन्छ भन्ने कुरा सिकेको बताउनुहुँदै तालिमबाट फर्किएपछि सिकाई भएको बिषयलाई अक्षरशः पालन गर्न प्रयास गर्ने बताउनुभयो ।

सोही तालिमको सहभागी लमजुङ जिल्लाको सदस्य संस्था अन्नपूर्ण बौद्धिक मन्दता अभिभावक संघको सचिव राममाया सापकोटाले समग्रमा बौद्धिक अपाङ्गता भएका व्यक्तिको मुद्धालाई मूलधारमा ल्याउनका लागि नेतृत्वको भूमिका, जिम्मेवारीको हस्तान्तरण, सामूहिक र योजनाबद्ध रणनिती बनाउँदै सकारात्मक सोँचका साथ निरन्तर उत्प्रेरित हुने र अरुलाई उत्प्रेरित गर्ने बिषयमा बिभिन्न विधीबाट सिक्ने मौका पाएको बताउनुहुँदै महासंघले सदस्य संस्थाको लागि यस प्रकारको तालिमहरुलाई अझै निरन्तरता दिनुपर्ने बताउनुभयो ।

बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको कोपिला परियोजना अन्तर्गत लेभ इन्क्लुजन डेनमार्कको सहयोगमा सम्पन्न भएको उक्त तालिममा ३ वटा जिल्लाका बौद्धिक अपाङ्गता भएका व्यक्तिका अभिभावक र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु सहित २९ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमका झलकहरू:

समान पोस्टहरू