सदस्य संस्थाहरुलाई प्रस्तावना लेखनसम्बन्धी तालिम सम्पन्न

भरतपुर ।१५-१७ चैत ।

बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको आयोजनामा बौद्धिक अपाङ्गताका अभिभावक संघका पदाधिकारीहरुलाई प्रस्तावना लेखन सम्बन्धी ३ दिने कार्यक्रम भरतपुरमा सम्पन्न भएको छ ।

लेभ इन्क्लुजन डेनमार्कको सहयोगमा सञ्चालित कोपिला परियोजनाको सहयोगमा सदस्य संस्थाको क्षमता बिकास तथा स्थानिय स्रोत सुनिश्चितताको लागि सक्रिय गराउने उद्देश्यको साथ यो तालिमको आयोजना गरिएको महासंघका कार्यक्रम व्यवस्थापक भूषण राज राउतले जानकारी दिनुभयो ।

कार्यक्रमको उद्घाटन सत्रमा बौद्धिक अपाङ्गताका अभिभावक संघ चितवनका अध्यक्ष निर्मल कुमार श्रेष्ठले सम्पूर्ण सहभागीलाई चितवनमा स्वागत गर्नुहुँदै तालिम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

तालिमको अन्तिम दिन सहभागीहरुले दिवा स्याहार केन्द्र निर्माण, पुनर्स्थापना केन्द्रको व्यवस्था, स्रोत शिक्षकको व्यवस्था, स्रोत कक्षाको लागि यातायातको व्यवस्था लगायतको बिषयमा प्रस्तावना लेखी तयार गरेका थिए ।

कार्यक्रममा सहभागी मध्ये काठमाण्डौँबाट सहभागी हुनुभएको लक्ष्मी बस्नेतले किर्तिपुरमा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई एउटा दिवा सेवा केन्द्रको आवश्यकता रहेको बताउनुहुँदै उहाँले यस तालिमबाट फर्किएपछि दिवा सेवा केन्द्र स्थापनाको लागि स्थानिय तहमा प्रस्तावना पेश गर्ने जानकारी दिनुभयो ।

यस्तै सप्तरीबाट सहभागी हुनुभएको सहभागी आरती मण्डलले सप्तरी जिल्लामा बौद्धिक अपाङ्गता भएको व्यक्तिको दिवा सेवा केन्द्रको लागि यातायातको व्यवस्था र स्रोत शिक्षकको अभाव भएकोले सो को प्राप्तीको लागि स्थानिय सरकारका विभिन्न निकायमा प्रस्तावना पेश गर्ने बताउनुभयो ।

साथै चितवनबाट सहभागी हरिकला भूषालले चितवन जिल्लामा बौद्धिक अपाङ्गता स्रोत कक्षामा अध्ययनरत विद्यार्थीलाई उपलब्ध खाजा खर्चले खाजा खुवाउन सक्ने स्थिती नभएकोले सो खर्च वृद्धि गर्नका लागि आवश्यक बजेट बिनियोजनको गर्न तथा हरेक स्रोत कक्षामा फिजियोथेरापी कक्षको व्यवस्था गर्न स्थानिय तथा प्रदेश सरकारका बिभिन्न निकायमा प्रस्तावना पेश गर्ने जानकारी दिनुभयो ।

चितवन, सप्तरी, काठमाण्डौँ र काभ्रे जिल्लाका सदस्य संस्थाहरुबाट २२ जना प्रतिनिधीहरु र २ जना फिल्ड अधिकृतहरु सहित २४ जनाको सहभागिता रहेको उक्त तालिमलाई प्रशिक्षक निर्मल भण्डारीले प्रशिक्षण दिनुभएको थियो ।

तालिम चैत्र १५ देखी १७ गतेसम्म भरतपुरको होटल जमघटमा सञ्चालन भएको थियो ।

समान पोस्टहरू