क्षमता विकास सँगसँगै नीतिमा पहुँच अभिवृद्धि गर्दै बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपाल
अपाङ्गता भएका व्यक्तिको क्षमता विकास सँगसँगै हक हित संरक्षण गर्दै नीतिमा पहुँच अभिवृद्धि गरि समतामूलक समाजमा सम्मान पूर्वक जीवनको सपना देखेको बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालले अपाङ्गता भएका व्यक्तिको क्षमता अभिवृद्धि सँगसँगै नीतिमा पहुच अभिवृद्धि गर्न विभिन्न कार्यक्रम गर्दै आएको छ ।
यसै क्रममा यु एन डी पि को सहयोगमा संचालित परियोजना अन्तर्गत यहि २०८१ माघ २१ गतेदेखि २३ गते सम्म कर्णाली प्रदेशमा वकालतमा क्षमता अभिवृद्धि तथा अपाङ्गता सम्बन्धी प्रादेशिक नीतिको महत्त्वबारे अपाङ्गता भएका व्यक्तिको संस्था तथा सरकारी निकायका प्रतिनिधिहरुसँग छुट्टाटुट्टै कार्यक्रम आयोजना गरेको छ ।
“समृद्ध कर्णाली, सुखारी कर्णालीवासी” को दीर्घकालीन सपना पुरा गर्न अपाङ्गता भएका व्यक्तिको पनि सम्मानपूर्वक जीवनयापनको सुनिश्चितताका लागि अपाङ्गता सम्बन्धी प्रादेशिक नीतिको महत्त्वका बारेमा सामाजिक विकास मन्त्रालय तथा समाजिक विकास महाशाखामा छलफल कार्यक्रम आयोजना गरियो । मिति २०८१ माघ २१ गते गरिएको उक्त छलफल कार्यक्रममा सामाजिक विकास मन्त्री, सचिव, सामाजिक विकास महाशाखाका प्रतिनिधि लगायत बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपाल, बौद्धिक अपाङ्गता अभिभावक संघ तथा राष्ट्रिय अपाङ्ग महासंघका प्रतिनिधिहरु गरि जम्मा ११ जनाको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा अपाङ्गता सम्बन्धी प्रादेशिक नीतिको महत्त्व र आवश्यक्ता रहेको तथा उक्त नीति तथ्य तथ्याङ्क र प्रदेश सरकार कानुनसँग मेल खाने गरि ल्याइएमा पारित गर्न प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सकारात्मक रहेको सामाजिक विकास मन्त्रालयका माननीय मन्त्रीले प्रष्ट पार्नु भयो ।
यसैगरि अपाङ्गता भएका व्यक्तिको संस्थाको क्षमता विकास गर्ने क्रमलाई जोड्दै मिति २०८१ माघ २२ गते समावेशी श्रोत वितरणका लागि वकालत सम्बन्धी तालिम आयोजना गरियो । ३८ जनाको सहभागिता रहेको उक्त तालिममा श्रोत पहिचान र वकालत, श्रोतमा पहुँच र सफलता लगाएतका विषयमा सहजकर्ताबाट प्रष्ट पारिएको थियो । प्रस्तुतिकरण, समूहकार्य जस्ता विधि अपनाइएको उक्त कार्यक्रममा सहभागीहरुबाट सफलताका कथाहरू पनि सुनाइएको थियो ।
यसैगरि मिति २०८१ माघ २३ गते सम्पन्न भएको अपाङ्गता सम्वन्धी प्रादेशिक नीतिमा पृष्ठपोषण सम्बन्धी कार्यक्रममा अपाङ्गता भएका व्यक्तिको संस्थाका प्रतिनिधि तथा अन्य सरोकारवालाहरु गरि १९ जनाको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा पहिले बनिसकेको प्रादेशिक नीतिको खाकामा सहभागीहरुबाट पहिलो चरणको पृष्ठपोषण लिने कार्य सम्पन्न गरियो ।