प्रेस विज्ञप्ति

मिति: २०८३ भाद्र १५ गते

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोम, अटिज्म तथा अन्य अपाङ्गता भएका व्यक्तिहरूको जीवन सुरक्षा, उद्धार र राहतमा विशेष ध्यान दिन बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको हार्दिक अपिल

भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङ जिल्लामा पुर्‍याएको ठूलो जनधनको क्षतिप्रति बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपाल गहिरो दुःख व्यक्त गर्दछ। ज्यान गुमाउनुभएका सबैप्रति हामी श्रद्धाञ्जली अर्पण गर्दछौँ, शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ, र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ। उद्धार र राहतमा दिनरात खटिरहेका सुरक्षा निकाय तथा सम्पूर्ण संयन्त्रहरूप्रति हामी हार्दिक सम्मान व्यक्त गर्दछौँ।

यस्तो विपद्को घडीमा बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोम, अटिज्म तथा बहु-अपाङ्गता भएका व्यक्तिहरू सबैभन्दा बढी जोखिममा पर्छन्। उनीहरूले आपत्कालीन सूचना समयमै बुझ्न नसक्न सक्छन्, हेरचाहकर्ताबाट अलग हुन सक्छन्, औषधि र स्वास्थ्य सेवामा अवरोध भोग्न सक्छन्, अपरिचित वातावरणले मानसिक तनावमा पर्न सक्छन् र हिंसा तथा शोषणको उच्च जोखिममा रहन सक्छन्। यसैले हामी सम्पूर्ण सरोकारवालाहरूलाई निम्न विषयमा विशेष ध्यान दिनु हुन हार्दिक अपिल गर्दछौँ:

१. उद्धारमा प्राथमिकता र पहुँचयोग्य सूचना: बौद्धिक अपाङ्गता, अटिज्म र डाउन सिन्ड्रोम भएका व्यक्तिहरूको खोज र उद्धारलाई प्राथमिकता दिइयोस्। उनीहरूलाई परिवार र हेरचाहकर्ताबाट अलग नगरी सँगै स्थानान्तरण गरियोस्। सूचना र निर्देशनहरू सरल भाषामा, चित्रसहित र सजिलै बुझ्न सकिने गरी उपलब्ध गराइयोस्।

२. शिविरमा विशेष व्यवस्था र स्वास्थ्य सेवाको निरन्तरता: अस्थायी आश्रयस्थलमा डाउन सिन्ड्रोम, अटिज्म तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूका लागि शान्त र सुरक्षित स्थान (Calm Zone) को व्यवस्था गर्नुपर्दछ। नियमित औषधि (थाइरोइड लगायतको औषधि), विशेष पोषण, डायपर, सरसफाइ सामग्री तथा आवश्यक स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्नुपर्दछ।

३. मनोसामाजिक सहयोग र सुरक्षा: विपद्का कारण डाउन सिन्ड्रोम, अटिज्म तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूमा गम्भीर मानसिक तनाव तथा व्यवहारगत कठिनाइ उत्पन्न हुन सक्ने भएकाले उनीहरूका लागि आवश्यक मनोसामाजिक सहयोग तथा अभिभावक र हेरचाहकर्तालाई समेत आवश्यक सहयोग उपलब्ध गराउनुपर्दछ। विशेषगरी महिला तथा बालबालिकामाथि हुन सक्ने हिंसा, शोषण तथा अन्य जोखिम न्यूनीकरण गर्न विशेष सुरक्षा संयन्त्र परिचालन गर्नुपर्दछ।

४. समावेशी राहत वितरण: राहत वितरण प्रक्रिया सरल, सहज र लचिलो बनाउनुपर्दछ। डाउन सिन्ड्रोम, अटिज्म तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई लामो समयसम्म लाइनमा बस्न वा जटिल प्रक्रिया बुझ्न कठिन हुन सक्ने भएकाले उनीहरू र उनीहरूका परिवारलाई राहत वितरणमा प्राथमिकता दिनुपर्दछ।

“कसैलाई पछाडि नछोडौँ” भन्ने सिद्धान्त अनुरूप विपद् व्यवस्थापनका सबै चरणमा बौद्धिक अपाङ्गता, अटिज्म तथा डाउन सिन्ड्रोम भएका व्यक्तिसहित सबै जोखिममा रहेका समुदायको अधिकार, गरिमा र सुरक्षालाई सुनिश्चित गर्न हामी सम्पूर्ण सरोकारवालामा हार्दिक आह्वान गर्दछौँ।

हामी सबै मिलेर यस विपद्को सामना गरौँ, कसैलाई पनि पछाडि नछोडौँ।

आपत्कालीन सम्पर्क: APF ११०४ | प्रहरी १०० | एम्बुलेन्स १०२ | DEOC १२३४

समान पोस्टहरू